Feed

‘देशमा पुनः गृहयुद्ध निम्तन सक्छ’

विराटनगर/एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले तोकिएकै समयमा संविधान जारी नभएमा देशमा पुनः अर्को गृहयुद्ध निम्तन सक्ने बताउनुभएको छ । उहँले आफ्नो पार्टी व्यक्तिगत स्वार्थमा नभई देश र जनताको हितमा सदैव लागिरहने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान संविधानसभाबाट संविधान लेखिनुपर्नेमा जोड दिनुभयो । डा. भट्टराईले शनिबार आयोजित नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको कोचिला राज्यसमितिअन्तर्गत झापा, मोरङ र सुनसरीका प्राध्यापकहरूको भेलाको उद्घाटन गर्दै जनताको अधिकार सुनिश्चित गर्ने संविधान आफूहरूले लेख्न चाहेको तर यसप्रति अन्य दलहरू उदासीन बनेको कारण संविधान लेखनमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले संविधानसभाबाट नै जनताको सङ्घीय गणतन्त्र लोकतन्त्रको स्थापना होस् भन्ने चाहना माओवादीको चाहनालाई अन्य संसदवादी दलहरूले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी जेठ १४ गते संविधान जारी नभएमा देशमा सङ्कटकाल लगाउने षड्यन्त्र भएको आङ्शका व्यक्त गर्दै त्यसो भएमा देश र अहिलेका शासकवर्गका लागि घातक हुने चेतावनी समेत दिनुभयो । उहाँले देशमा द्वन्द्व निम्त्याउन देशी विदेशी शक्तिको चलखेलबाट देशलाई बचाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनेपर्ने आवश्यकता औँल्याउनुभयो । एनेकपा (माओवादी) का केन्द्रीय सचिव सिपी गजुरेलले जनता सङ्घीय गणतन्त्र स्थापना गर्नका लागि लडिरहेको उल्लेख गर्दै त्यो पूरा नभए आफ्नो पार्टीले सडक र सदनबाट सङ्घीयताका लागि कडा दबाब दिने आवश्यकता औँल्याउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार भीमराज अधिकारीले पञ्चायती शासनकालदेखिको चलिआएको विश्वविद्यालयको पाठ्यक्रमलाई परिमार्जन गरी वैज्ञानिक र रोजगारी एवम् सीपमूलक बनाउनु पर्ने आवश्यकता रहेको र त्यसमा सबैको खाँचो औँल्याउनुभयो ।

No Response to "‘देशमा पुनः गृहयुद्ध निम्तन सक्छ’"

Copyright © 2009 श्रीजनमत साप्ताहिक All rights reserved.